कैलाली- कैलालीमा कुटपिट गरी नगद र मोबाइल लुट्ने दुई जना पक्राउ परेका छन्। जिल्लाको लम्कीचुहा नगरपालिका–३ बलचौरमा एक व्यक्तिमाथि कुटपिट गरी नगद ९ हजार ५०० र एक थान मोबाइल लुट्ने सोही ठाउँका २४ बर्षिय कमल बादि र २३ बर्षिय हिमाल बादिलाई प्रहरीले पक्राउ गरेको हो।
इलाका प्रहरी कार्यालय लम्कीका अनुसार बिहीबार ९ बजे लम्कीचुहा १ स्थित पूर्व लम्किका ६० बर्षिय गोरख बहादुर बटाला बलचौरमा गाई किन्न गई फर्कने क्रममा कुटपिट गरी उनीहरूले उक्त नगद र मोबाइल लुटेका थिए।
बटालाले नगद र मोबाइल लुटेर भागेको जानकारी इलाका प्रहरी कार्यालय लम्कीमा गरेपछि खटिएको प्रहरी टोलीले लम्कीचुहा ३ बल्चौरमा लुकीछिपी बसेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ परेका दुबैलाई जिल्ला अदालत धनगढी कैलालीबाट ५ दिनको म्याद थप भई डाँका चोरीमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













