धनगढी– मोहना–अत्तरिया ६ लेन सडक किनारमा एक महिना भन्दा बढी समयदेखि ट्रक पार्किङ गरेर साउ सम्पर्कविहीन भएका छन् ।अन्तर्गत धनगढी–१३ राजपुरमा ६ लेन सडकको छेउमा महिना दिनसम्म ट्रक पार्किङमा राखिएपछि आवत जावतमा समस्या भएको स्थानीय तथा व्यापारीहरुले गुनासो गरेका छन् । सडकमा तीन वटा ट्रक बेवारिसे झैँ छोडिएको छ ।
सडकमा सु.प.प्र.०१–००१ ख २८९३, ना ६ ख ७६१४ र ना ६ ख् ३७१३ नम्बरका तीन वटा ट्रक पार्किङ गरिएका छन् । बाटोमा ट्रक पार्किङ हुँदा आवतजावतको निकै समस्या भएको धनगढी–१३ राजपुरका स्थानीय व्यापारी खडक बोगटीले बताए ।
उनले ट्रक हटाउनका लागि सम्बन्धित निकायलाई भन्दा समेत ट्रक हटन नसकेको दुखेसो गरे । छिटो भन्दा छिटो समस्याको समाधान निकाल्नुपर्ने उनको भाग छ ।
राजपुरका अर्का व्यापारी मनोजकुमार चटौतले पनि पसल अगाडि नै ट्रक पार्किङ हुँदा व्यापार व्यावसायमा समेत समस्या हुने गरेको बताए । ‘पसल नै छेकने गरेर ट्रक राख्दा ग्राहक नै आउदैनन् ।’ उनले भने
सडकमा ट्रक पाकिङ गर्दा दुर्घटनाको जोखिम समेत भएको धनगढी–१३ राजपुरका व्यापारी जनार्दन जोशीले बताए । ‘बिच बाटोमा ट्रक ल्याएर साउ सम्पर्कविहीन भएका छन्, हाम्रो पसलमा आउन ग्राहकहरु आउनै छोडे ।’
जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी निरीक्षक वीरेन्द्र सिंह जोहारीले तीन मध्ये एक ट्रक एक महिनादेखि नै बाटोमा छोडिएको बताए । उनले ट्रक छोडेर हिडेका ट्रक धनीको खोजी कार्य जारी रहेको बताए ।
‘एउटा ट्रक नारायणीमा दर्ता भएको भन्ने थाहा भएको छ, ‘प्रहरी निरीक्षक जोहारीले भने, ‘अब ट्रक व्यावसाय समितिलाई सोधेर ट्रक धनीलाई कारवाही गर्नुपर्ने भएको छ ।’
अन्य दुई ट्रक पनि १०÷१५ दिनदेखि बाटोमै बेवारिसे झैं राखिएको र यसले मानिसहरुलाई आवतजावतमा समस्या उत्पन्न भएको उनले बताए ।













