कञ्चनपुर- राष्ट्रिय युवा संघ कञ्चनपुरको १० औँ अधिवेशनको बन्द सत्रमा लफडा भएको छ। कञ्चनपुर उद्योग वाणिज्य संघको सभा कक्षमा शुक्रवार अधिवेशनको उद्घाटन सत्रमा अध्यक्ष मण्डल र प्रतिनिधिको विषयमा विवाद भएको हो। विवाद हुँदा दुवै पक्षबाट हात हालाहाल हुनुका साथै वाणिज्य संघका अनुसार संघका ६ ओटा कुर्ची तोडफोड गरिएका छन्।
शुक्रवार राति स्थगित गरिएको अधिवेशनको बन्द सत्र अहिले दिउँसोसम्म सञ्चालन हुन सकेको छैन। बिहान ११ सुरु हुने भनिएको बन्द सत्र अहिलेसम्म सुरु नभएपछि प्रतिनिधि एमाले पार्टी कार्यालय र कार्यालय बाहिर प्रतीक्षामा बसेका छन्।
बन्द सत्र सञ्चालनका लागि पार्टी र युवा संघका नेताहरू बिहानैदेखि पोलिटब्युरो सदस्य युवा फाँट इन्चार्ज महेश बस्नेतसित छलफल गरिरहेका छन्। युवा संघका नेताहरूका अनुसार शुक्रवार राति बन्द सत्र सुरु भएर अध्यक्ष मण्डल घोषणा हुनुअघि नै असन्तुष्टि पोखेपछि हलमा विवाद भएको थियो।
त्यहीँ विवादका बिच प्रतिनिधिबिच एक आपसमा हात हालाहाल भएको छ। उनीहरूले सभा हलका केही कुर्ची तोडफोड गरेका छन्।एमाले पोलिटब्युरो सदस्य बस्नेतले दिउँसो अधिवेशन उद्घाटन गरेपछि शुक्रवार साँझ ७ बजे बन्द सत्र सुरु गर्ने कार्य तालिका थियो।
त्यस अनुसार हुन नसकेको बन्द सत्र केही ढिलो गरी सुरु गरिएको थियो।
बन्द सत्रमा विवाद भएपछि प्रतिनिधिले आयोजक कमिटीका सदस्य खगेन्द्र नाथमाथि हातपात गरेका छन्। उनले अध्यक्ष मण्डलका संयोजक संघका केन्द्रीय उपाध्यक्ष महाराज गुरुङ सहितमाथि हातपात गर्न खोज्ने क्रममा आफूले रोक्दा हातपात गरिएको बताए।
‘अध्यक्ष मण्डलमाथि हातपात हुने भएपछि मैले रोक्न खोज्दा ममाथि नै हातपात गरिएको उनले भने। नाथ लगायत युवा संघका नेताले राति भएको घट्नाको पोलिटब्युरो सदस्य महेश बस्नेतलाई जानकारी गराएर कारवाही गर्न माग गरेका छन्। बस्नेतले संलग्न सबैलाई युवा सङ्घबाट कारवाही गरिने आश्वासन दिएको बताइएको छ।













