काठमाडौँ- नेपाल आयल निगमले सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा इन्धन भण्डारण गृह निर्माण गर्ने भएको छ । सुदूरपश्चिम प्रदेशमा इन्धनको आपूर्ति व्यवस्था सहज बनाउन भण्डारण गृह निर्माण गर्न लागिएको हो ।
धनगढीमा इन्धनको भण्डारण गृह भए पनि सडकनजिक भएको र असुरक्षित भएकाले मानव बस्तीभन्दा टाढा हुने गरी कञ्चनपुरमा रहेको पारवहन गोदाम कम्पनीसँग जग्गा प्राप्तिका लागि कुरा भइरहेको निगमका प्रवक्ता मनोजकुमार ठाकुरले जानकारी दिए । जग्गा प्राप्ति भएपछि दोस्रो चरणमा भण्डारण गृह निर्माण कार्य अगाडि बढाइने निगमले जनाएको छ ।
धनगढीमा इन्धन डिपो भए पनि न्यून क्षमता रहेको र दिनप्रतिदिन माग बढ्दै गएकाले धेरै क्षमताको गृह निर्माण गरिने निगमले जनाएको छ । भण्डारण गृह निर्माण गर्न निगमले आफ्नो नीति तथा कार्यक्रममा राखेको छ । हाल धनगढी डिपोमा पेट्रोल ८६९ किलोलिटर, डिजेल एक हजार ५९० किलोलिटर, मटितेल ४७ किलोलिटर र हवाई इन्धन ४८ किलोलिटर क्षमताको भण्डारण गृह रहेको छ ।
सरकारको न्यूनतम तीन महिनाको पेट्रोलियम पदार्थको मागलाई धान्न सक्ने गरी भण्डारण क्षमता वृद्धि गर्ने नीति अनुरूप भण्डारण गृह बनाउन लागिएको निगमले जनाएको छ ।
हाल निगमसँग ७१ हजार किलोलिटर इन्धन भण्डारण क्षमता रहेको छ । जसमा १० देखि १५ प्रतिशत इन्धन प्राविधिक रूपमा राख्न नमिल्ने निगमले जनाएको छ । निगमसँग हाल एक हप्तालाई पुग्ने इन्धन भण्डारण क्षमता रहेको छ । भण्डारण क्षमता कम हुँदा बजारमा इन्धनको अभाव हुने देखिन्छ ।













