धनगढी- सुदूरपश्चिम प्रदेश सरकारका उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्री रमेशसिंह धामीले मातहल कार्यालय परिसरमा कुहिने अवस्थामा रहेको काठ व्यवस्थापन गर्न निर्देशन दिएका छन् ।
बुधबार मन्त्रालय नजिकै रहेको शसस्त्र वन सुरक्षा शाखा कार्यालय धनगढीको अनुगमन गर्दै त्यहाँ रहेको कुहिन लागेको काठ,काठ ओसार पसार गर्न प्रयोग भएका जीर्ण अवस्थामा रहेका सवारी साधनको व्यवस्थापन गर्न मातहत कार्यालयका कर्मचारीलाई निर्देशन दिएका हुन् ।
अनुगमन तथा निरीक्षणका क्रममा मन्त्री धामीले सबै मातहत कार्यालय परिसरमा रहेको काठको व्यवस्थापन गर्न मन्त्रालयले समिति गठन गरेको बताए । उनले उक्त समितिबाट मातहत कार्यालयलाई निर्देशन पनि दिइसकेको बताए ।
‘विभिन्न प्रकृतिका काठ छन, कोही मुद्धा मामिला कोही बेवारिसे काठ छन्’ उनले भने ‘यी सबै प्रकृतिका काठ व्यवस्थापन गर्ने निर्णय भएको छ,एउटा समिति पनि बनेको छ, त्यो समितिले सबै मातहतका कार्यालयलाई निर्देशन पनि दिइसकेको छ’ ।
मन्त्री धामीले मातहत कायार्यलयहरुलाई लगत संकलन गर्न र काम छिटो अगाडि बढाउँन समेत निर्देशन भइसकेको बताए । शसस्त्र वन सुरक्षा शाखा कार्यालय धनगढीका सुबेदार नरबहादुर थापाले वर्षौ पहिले देखिनै कार्यालय परिसरमा काठ घाटगद्दी गरेर राखिएको र त्यसको एकिन परिणाम भन्न नसकिने अवस्थामा रहेको बताए ।
मन्त्री धामी र राज्यमन्त्री गीतादेवी मालले उक्त कार्यालय परिसरमा रहेको काठ,सवारी साधन,थुनुवा कक्षको अनुगमन तथा निरीक्षण गरेका थिए ।
















