डोटी – डोटीको जोरायल गाउँपालिका–३ चनकट्टेका रघुनाथ जोशीले आफूले पाउँदै आएको वृद्धभत्ता रकमबाट दुई वटा अक्षयकोष स्थापना गरेका छन् । उनले एकरएक लाख रुपैयाँका रघुनाथतारा अक्षयकोष स्थापना गरेका हुन् ।
१ सय २ वर्षको उमेरमा जोशीले जोरायल गाउँपालिका–३ को शिवपुर माध्यमिक विद्यालय र सरस्वती नगर प्राथमिक स्वास्थ्य केन्द्रमा अक्षयकोष स्थापना गरेका हुन् ।
जोशीले जीवनको उत्तरार्धमा पुण्य कार्य गर्न पाएको भन्दै खुसी व्यक्त गरे । समाजसेवी जोशीकी श्रीमती तारादेवी ९८ वर्षकी हुनुभएको छ । अहिले उनीहरू कैलालीको धनगढी उपमहानगरपालिकामा बस्दै आएका छन् ।
अक्षयकोष स्थापना गरेकोमा जोशीलाई वडाध्यक्ष नवीन ओझाले आज शुक्रवार एक कार्यक्रमबीच सम्मान गरे । वडाध्यक्ष ओझाले समाजसेवी जोशी समाजका लागि प्रेरणाको स्रोत रहेको बताए ।














