धनगढी– देउडा गायक हरिश्चन्द्र कडायतको निधन भएको छ। ५४ वर्षीय कडायतको कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा बुधबार बिहान उनको निधन भएको हो।
देउडाको ठाडी भाकाको ‘सम्राट’का रुपमा चिनिने कडायतको ‘कर्णालीका भेल’, ‘बझाङी काल्या’, ‘लंकाभरि सुन छ’, ‘ल बिणी खान्या की’ लगायत चर्चित छन्।
२०५० सालदेखि गायन क्षेत्रमा सक्रिय रहेका कडायतले १०० भन्दा बढी देउडा गीतमा स्वर दिएका छन्। उनले आफ्नै शब्द रचनामा पनि थुप्रै गीत गाएका छन्।
बझाङको छबिसपाथिभेरा गाउँपालिका-२ मुम्ला स्थायी घर भएका कडायतलाई गत हप्ता मस्तिष्कघात भएपछि धनगढीस्थित नवजीवन अस्पताल भर्ना गरिएको थियो। स्वास्थ्यमा सुधार नभएपछि उनलाई सेती प्रादेशिक अस्पतालमा रिफर गरिएको थियो। दिवंगत कडायतका २ छोरा‚ १ छोरी र श्रीमती छन्।













