धनगढी– प्रतिनिधि सभाबाट नागरिकता विधेयक पारित भएको खुसियालीमा नेपाली कांग्रेस कैलालीले पार्टी कार्यालयमा दीप प्रज्वलन गरेको छ । कांग्रेसले बिहीबार देशभरका पार्टी कार्यालयमा दीप प्रज्वलन गरेर दीपावली मनाएको हो ।
पार्टीको देशभर तय भएको कार्यक्रमअन्तर्गत कैलाली पार्टी कार्यालयमा दीप प्रज्वलन गरिएको कार्यालय सचिव प्रयागराज जोशीले जानकारी दिए।
नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ प्रतिनिधि सभाको बैठकले विधेयकलाई बहुमतले पारित गरेको हो ।
विधेयक पारित भएपछि जन्मसिद्ध र अङ्गीकृतका छोराछोरी राज्यविहीन भएको अवस्थामा माग सम्बोधन हुने बताइएको छ । संघीय संसदको तल्लो सदनबाट पारित भएको विधेयक अब राष्ट्रिय सभामा पेश हुने छ ।
राष्ट्रिय सभाले पनि विधेयकमाथि छलफल गर्ने छ। संघीय संसदको माथिल्लो सदन राष्ट्रिय सभाबाट पारित भएपछि यो प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष जाने छ।
राष्ट्रपतिले प्रमाणीकरण गरेपछि राजपत्रमा प्रकाशित हुँदै लागू हुने छ। यो लागू भएपछि यसले नागरिकता ऐन, २०६३ लाई संशोधन गर्ने छ।













