काठमाडौँ- मुम्बईका लागि उडान भर्न तयार नेपाल वायुसेवा निगमको एउटा जहाज शंकास्पद व्यक्ति सवार रहेको सूचना आएपछि रोकिएको छ। शंकास्पद व्यक्ति सवार रहेको सूचना कैलाली प्रहरीले दिएपछि उक्त जहाजमा सवार यात्रुलाई ओरालेर जाँच गरिएको थियो।त्यसक्रममा भारतबाट सामान चोरेर आएका एक व्यक्तिलाई पक्राउ गरिएको नेपाल प्रहरीका प्रवक्ता डीआईजी टेकप्रसाद राईले बताए।
बुधबार दिउँसो १ बजेर १० मिनेटमा मुम्बई उड्न तयार नेपाल एयरलाइन्सको न्यारोबडी ३२० जहाजबाट एकजना शंकास्पद व्यक्तिलाई पक्राउ गरिएको त्रिभुवन विमानस्थलका महाप्रबन्धक प्रेम ठाकुरले जानकारी दिए। उक्त जहाजमा सवार यात्रुमध्ये शंकास्पद २ जनालाई पक्राउ गरिएको बताइए पनि प्रहरीले एक जनाबारे पुष्टि गरेको छ। तर उनको विस्तृत विवरण खुलाइएको छैन।
ती शंकास्पद व्यक्तिलाई पक्राउ गरेपछि जहाज मुम्बईका लागि उडिसकेको छ। प्रवक्ता राईका अनुसार भारतबाट एक पटक सामान चोरेर कैलाली ल्याएका व्यक्ति दुबई भाग्न लागेकाले पक्राउ गरिएको बताए। शंकास्पद व्यक्ति जहाजमा रहेको सूचना प्रहरी सञ्चारबाट विमानस्थलमा पुगेको थियो। महाप्रबन्धक ठाकुरका अनुसार अहिले जहाज उडिसकेको छ।













