कञ्चनपुर- कञ्चनपुरमा भन्सार छलिका सामानसहित एक जना पक्राउ परेका छन्। जिल्लाको कृष्णपुर नगरपालिका–२ वाणीका २३ वर्षीय विजय चौधरीलाई सोमवार राति प्रहरी गस्ती टोलीले भन्सार छलिका सामानसहित फेला पारी नियन्त्रणमा लिएको हो।
चौधरीलाई लालझाडी गाउँपालिका–४ देखतभुलीबाट अवैध रूपमा भारतबाट भन्सार छली गरी ल्याएका अन्दाजी एक लाख ८० हजार ५ सय मूल्य बराबरको माछा, चिनी, काले मामा नामक चुरन, मोटरसाइकल एक थानसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
साथै सोही ठाउँबाट अन्दाजी एक लाख ५२ हजार ९ सय मूल्य बराबरको माछा, चिनी, आन्टी नामक स्विट सुपारी, मोटरसाइकल १ थानसमेत सोमवार राति प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ।
यस्तै कृष्णपुर नगरपालिका–२ मछेली पुल नजिकबाट भन्सार छलिका अन्दाजी ३९ हजार तीन सय २० मूल्य बराबरको खेलौना, टफी, मसला लगायतका सामान र भीमदत्त नगरपालिका-१० बिद्युत् कार्यालय अगाडी पूर्वपश्चिम राजमार्गबाट अन्दाजी एक लाख २० हजार तीन सय ४० मूल्य बराबरको किरानाका सामान, मोटर पार्टस, जुता, चप्पल, खाद्यान्न लगायतका सामान बरामद गरिएको छ। प्रहरी गस्ती टोलीले उक्त सामान बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको बताएको छ।













