धनगढी- कैलालीका भूपेन्द्र बडुवालको हत्या प्रकरणका फरार दुई जना प्रतिवादी पक्राउ परेका छन्। लम्कीका बडुवालको हत्या गरेको अभियोगमा अदालतबाट पक्राउ पुर्जी जारी भएका थप दुई जना आइतवार बिहान पक्राउ परेका हुन्।
जिल्लाको लम्की चुहा नगरपालिका वडा नम्बर १ थकालीपुरका २६ वर्षीय रोशनबहादुर शाही र वडा नम्बर ३ चिसापानीका २३ वर्षीय अनुज भनिने चिरञ्जिवी शाही आइतवार पक्राउ परेका छन् ।
उनीहरूसमेत लम्कीका २३ वर्षीय भूपेन्द्र बडुवालको हत्यामा सङ्लन्न रहेको भन्दै प्रहरीमा जाहेरी दर्ता भएको थियो। बडुवालको २०७८ कात्तिक २३ गते हत्या भएको थियो। उनको हत्याको आरोमा १२ जनाको विरुद्धमा इलाका प्रहरी कार्यालय, टीकापुरमा किटानी जाहेरी दर्ता भएको थियो।













