धनगढी- आर्थिक वर्ष ०६६/६७ सालदेखि निर्माण सुरु भएको रानी जमरा कुलरिया सिँचाइ आयोजनाको हालसम्म भौतिक प्रगति ७० प्रतिशत र वित्तीय प्रगति ६७ प्रतिशत पुगेको छ । आयोजनाको निर्माण चालू आव ०८०/८१ मा सम्पन्न गर्ने म्याद छ, तर चालू आवमा बाँकी काम नसकिने बताइएको छ ।
आयोजनाले कैलालीको पूर्वी क्षेत्रको ३८ हजार तीन सय हेक्टरमा सिँचाइ सुविधा पुर्याउने लक्ष्य लिएको छ । निर्माण जारी रहेको दोस्रो चरणको काम पूरा भए करिब २० हजार तीन सय हेक्टरमा सिँचाइ सुविधा विस्तार हुनेछ ।
अहिले १४ हजार हेक्टरमा सिँचाइ सुविधा भइसकेको आयोजना कार्यालयले जनाएको छ । २० हजार तीन सय हेक्टरमा सिँचाइ पुर्याउन आवश्यक संरचना निर्माणको काम आर्थिक वर्ष ०८०/८१ मा सम्पन्न गर्ने लक्ष्य लिइएको छ । आयोजनाको तेस्रो चरण पूरा भए थप १८ हजार हेक्टरमा सिँचाइ विस्तार हुनेछ । तेस्रो चरणको भने ठेक्का प्रक्रिया सुरु भएको छैन ।













