धनगढी- कृषकहरु घरखर्च टार्न सामूहिक माछापालन व्यवसायमा लागेका छन् । कैलालीको धनगढी उपमहानगरपालिका-६ शान्तिटोलका कृषकहरु सामुहिक माछापालनमा लागेका हुन् । विभिन्न समूहमार्फत जाली सामुदायिक वन उपभोक्ता समूहका तालहरु ठेक्कामा लिएर यहाँका कृषकहरु सामुहिक माछापालनमा व्यवसाय गर्दै आएका छन् ।
२२ जनाको समूह रहेको जागृति माछापालन समूहले सामुदायिक वनको ताल भाडामा लिएर बिगत लामो समयदेखि माछापालन गर्दै आएका छन् । साढे २ विगाहामा फैलिएको ताल भाडामा लिएर माछा पालन गर्दै आएको जागृति माछापालन समूहका अध्यक्ष बुद्धिराम चौधरीले बताए ।उनले भने हामीले समूह मार्फत माछापालन गरेका छौँ । प्रति बिगाह १४ हजारका दरले वार्षिक भाडा तिर्ने गरेका छौँ । पानी र चारोको समस्या हुने भएकाले धेरै ठूलो आम्दानी त गर्न सकेका छैनौँ । पानी र आहाराको व्यवस्था गर्न सके राम्रै आम्दानी हुन्छ ।

समूह भित्र रहेका सदस्यहरुले विभिन्न चाडवाडमा यसै पोखरीबाट माछा निकालेर घरखर्च चलाउने गरेका छौँ । अन्त किन्न परेको छैन् । सानोतिनो घर खर्च चल्ने गरि आम्दानी भएकै हुन्छ, उनले भने । यस वर्ष तालमा करिब रु.२ लाख बराबरका कमन,रोहु, नैनी, सिल्भर,ग्रास, विकटलगायतका माछाका भूरा हालिएको बताउँदै उनले अब माछा निकाल्ने समय सुरु भएको बताए ।
थोरै लगानीमा गाउँमै केही गरौँ भन्ने उदेश्यले सामूहिक माछापालनमा लागिएको उनले बताए । लगानी बढाउन सके राम्रै आम्दानी हुने उनको भनाइ थियो । त्यस्तै सोही ठाउँमा ७ जना सदस्य रहेको डौनाबेवरी माछापालन समूहले बिगत २ वर्षदेखि वनको ताल भाडामा लिएर माछापालन गर्दै आएको समूहका सदस्य बाधु चौधरीले बताए । उनले भने, हामीले ९ हजार माछाका भूरा हालेर सुरु गरेका थियौँ । अहिले बेच्न सुरु गरेका छौँ । १ सय १० किलो माछा बेचिसकेका छौँ । अहिले बजार प्रतिकिलो २ सय देखि २ सय पचाससम्ममा माछा बिक्री हुने गरेको उनले बताए ।
सामूहिक माछापालनमा लाग्दा गाउँमै स्वरोजगार बनेको अर्का सदस्य अशोक चौधरीले बताए । उनले भने घर नजिकै काम गर्न पाइएको छ । आम्दानी पनि राम्रै भएको छ । यस्तै सो सामूदायिक वनका १० वटा पोखरीमा सामूहिक माछापालन हुँदै आएको स्थानीयले बताएका छन् ।













