धनगढी- धनगढी उपमहानगरपालिकाले सञ्चालन गर्दै आएको विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक सेवाबाट ९२ हजार बढी सेवाग्राही लाभान्वित भएका छन् । उपमहानगरपालिकाले गत वर्ष (२०७९) साउनदेखि हरेक वडामा विशेषज्ञसहितको निशुल्करूपमा स्वास्थ्य क्लिनिक सञ्चालन गर्दै आएको छ ।
उपमहानगरपालिकाको वडा स्वास्थ्य क्लिनिकका अनुसार करिब २० महिनाको अवधिमा वडा स्वास्थ्य क्लिनिकमा आँखा, दाँत, हाडजोर्नी, स्त्री रोगसहितका ९२ हजार ६ सय ३५ जनाले लाभ लिएका छन् ।
वडा स्वास्थ्य संयोजक भूपेन्द्र महराले वडामा नै विषेशज्ञ सेवा उपलब्ध भएपछि नियमित स्वास्थ्यजाँच गर्नुपर्ने ज्येष्ठ नागरिक, गर्भवती तथा दीर्घ रोगीलाई उपचारमा सहज भएको बताए ।
वडा स्वास्थ्य क्लिनिक संयोजक महराका अनुसार १२ हजार ९ सय ८ जनाले स्त्री तथा प्रसूति रोगसम्बन्धी विशेषज्ञ सेवा पाएका छन् । उनले भने– क्लिनिकमा उपचार सेवा लिनेमध्ये ९ हजार ४ सय ७४ जना ७० वर्ष उमेर माथिका सेवाग्राही रहेका छन् ।
वडा क्लिनिकमा सबै सेवाग्राहीलाई निःशुल्क रुपमा स्वास्थ्य सेवा दिने गरिएको छ । त्यस्तै, इसिजी, सुगर, पिसाब, रगतलगायत प्रयोगशाला जाँच समेत निःशुल्क उपलब्ध छ । गर्भवती महिलालाई अल्ट्रासाउन्ड सुविधा पनि प्रदान गर्ने गरिएको छ । स्वास्थ्य संयोजक महराले भने– यो २० महिनाको अवधिमा वडा क्लिनिकबाट ८ हजार ६ सय गर्भवती महिलाले स्वास्थ्य सेवा पाएका छन् ।
धनगढी उपमहानगरपालिकाले आर्थिक अभावका कारण स्वास्थ्य उपचार गर्न असमर्थ नागरिकका लागि घरदैलोमै निःशुल्क विशेषज्ञ उपचार सेवा दिने उद्देश्यले वडा स्वास्थ्य क्लिनिक कार्यक्रम सुरु गरेको हो । उपमहानगरका सबै १९ वटै वडामा हरेक महिनाको एक दिन स्वास्थ्य क्लिनिक सञ्चालन हुँदै आएको छ । वडा क्लिनिक सेवा सञ्चालन गर्न उपमहानगरपालिकाले एकजना फिजिसियन र एकजना स्त्री तथा प्रसूति रोग विशेषज्ञको व्यवस्था गरेको छ ।
धनगढी उपमहानगरपालिकामा करिब २ लाख जनसंख्या रहेको छ । उपमहानगरपालिका उपप्रमुख कन्दकला राना थारुले २० महिनाको अवधिमा करिब ५० प्रतिशत जनसंख्याले निःशुल्क रुपमा विशेषज्ञसहितको स्वास्थ्य सेवा प्राप्त गर्नु निकै उत्साहजनक उपलब्धी रहेको बताइन् । उनले भनिन्– हामी यो कार्यक्रमलाई अझ बढी प्रभावकारी र सहज बनाउने प्रयासमा छौ ।
उपमहानगरपालिकाले सञ्चालन गरेको विशेषज्ञसहितको वडा स्वास्थ्य क्लिनिक कार्यक्रमबाट आफूहरूले सहज रुपमा स्तरीय स्वास्थ्य सेवा पाउन थालेको स्थानीयको अनुभव छ । स्वास्थ्य परीक्षण गर्न वडा क्लिनिक पुगेकी वडा ३ का पूर्णा थापाले भनिन्– सामान्य स्वास्थ्य जाँच गर्दा समेत शुल्क तिर्नुपर्ने बाध्यता अहिले हटेको छ । आफ्नो घरदैलौमै विषेशज्ञ चिकित्सक सहितको स्वास्थ्य सेवा पाउँदा निकै खुसी लागेको छ ।
गत स्थानीय तह निर्वाचनताका मेयर पदका उम्मेदवार गोपाल हमालले आफ्नो चुनावी घोषणापत्रमा “नागरिकलाई घरदैलोमै स्वास्थ्य सेवा दिने प्रतिवद्धता” गरेका थिए । हमाल मेयरमा निर्वाचित भएको २ महिनाभित्रै वडा स्वास्थ्य क्लिनिक कार्यक्रम सुरु भएको हो ।













