काठमाडौँ – नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशको सहइन्चार्जको विषयलाई लिएर विवाद भएको छ । सिनियर नेताहरूलाई पाखा लगाएर जुनियर बिना मगरलाई प्रदेशको सहइन्चार्ज बनाइएको भन्दै सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरूले बैठक बहिष्कार गरेका छन् । उनीहरूले बिनालाई सहइन्चार्जका रूपमा स्वीकार्न नसकिने बताएका छन् ।
माओवादी केन्द्रको स्थायी समितिको १६ फागुनमा बसेको बैठकले उपमहासचिव गिरिराजमणि पोखरेललाई सुदूरपश्चिम प्रदेशको इन्चार्ज र केन्द्रीय सदस्य बिना मगरलाई सहइन्चार्ज बनाउने निर्णय गरेको थियो । सहइन्चार्ज बनाइएकी बिना प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी बुहारी हुन् । सुदूरपश्चिम प्रदेशको इन्चार्ज यसअघि सचिव डिलाराम आचार्य र सहइन्चार्ज स्थायी समिति सदस्य खगराज भट्ट थिए ।
उपमहासचिवसमेत रहेका इन्चार्ज पोखरेलले बिहीबार धनगढीमा सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरूको बैठक बोलाएका थिए । बैठकमा सहइन्चार्जका मगर पनि सहभागी थिइन् । तर, सहइन्चार्ज मगर बैठकमा सहभागी भएको भन्दै पाँच जना केन्द्रीय सदस्यहरूले बैठक बहिष्कार गरेको केन्द्रीय सदस्य हरि ज्ञवालीले बताए ।
‘सिनियर साथीहरू बस्ने भनेर इन्चार्ज पोखरेलले बैठक बोलाउनु भएको थियो । हामी बैठकमा गयौँ । तर, धेरै जुनियरलाई सहइन्चार्ज बनाएको कुरा मान्य छैन भनेर बैठक बहिष्कार गर्यौँ,’ ज्ञवालीले भने ।
बिनालाई सहइन्चार्ज बनाउने निर्णय सच्याउनुपर्ने ज्ञवालीको माग छ । ‘स्थायी समितिले गलत निर्णय गरेको छ । बिनालाई सहइन्चार्ज बनाउने निर्णय सच्याउनुपर्छ । पार्टी बनाउने हो भने विधिमा चल्नु पर्यो । पार्टीमा उचित मूल्यांकन हुनु पर्यो । यो निर्णय हामीले स्वीकार्दैनौँ,’ उनले भने ।
धेरै सिनियर नेताहरूलाई पाखा लगाएर अध्यक्ष प्रचण्डले आफ्नी बुहारी बिनालाई सहइन्चार्ज बनाएकाले विवाद सुरु भएको उनले बताए । ‘प्रचण्डलाई यो पार्टी बनाउनुपर्छ भन्ने भन्दा पनि आफ्नो परिवारको व्यवस्थापनको चिन्ता छ । यो गलत निर्णय नसच्याउँदासम्म हामीहरू बैठकमा जाँदैनौँ,’ उनले भने ।
उपमहासचिव पोखरेलले बोलाएको बैठक ज्ञवालीसहित केन्द्रीय सदस्यहरू नेपबहादुर चौधरी, विरमान चौधरी, भगत बडुवाल र हेमराज भट्टराईले बहिष्कार गरेका हुन् । संगठनमा खट्नेहरूले जिम्मेवारी नपाउने तर प्रचण्डको बुहारी भएकै कारण सहइन्चार्ज बनाइएपछि सुदूरपश्चिम प्रदेशका नेताहरू पनि रुष्ट बनेको प्रदेश समितिका एक सदस्यले बताए ।
‘पार्टीले अन्तिम सास फेरिरहेको छ । यसलाई बनाउनेभन्दा पनि सक्न नेताहरूबीच लागिरहेका छन् । सिनियरलाई पाखा लगाएर जुनियरलाई जिम्मेवारी दिने काम भयो । निर्णय नसच्चिए पार्टी बिस्तारै सकिन्छ,’ ती नेताले भने ।
तर, अध्यक्ष प्रचण्डनिकट नेताहरूले भने बिनालाई सहइन्चार्ज बनाएको विषयमा विवाद नभएको दाबी गर्छन् । उनीहरूले उपमहासचिव जनार्दन शर्मा समूहले बिनालाई सहइन्चार्जका रूपमा नस्वीकारेको बताउँछन् । ‘सुदूरपश्चिममा गुटको असर देखिएको छ । उपमहासचिव शर्माको समूहले बिनाजीलाई सहइन्चार्ज नस्वीकारेको हो । हामीले पार्टीको निर्णय मान्छौँ,’ ती केन्द्रीय सदस्यले भने ।
केन्द्रीय सदस्य कर्णबहादुर विकले भने बिहीबारको अनौपचारिक छलफलमा केही नेताहरूले स्थायी समितिको निर्णयप्रति असहमति जनाएर बैठकबाट बाहिरिएको बताए । उनका अनुसार प्रदेशमा भएका केन्द्रीय सदस्यहरूको बैठक शुक्रबार (आज) बस्न लागेको छ । तर, आज बोलाइएको बैठक पनि आफूहरूले बहिष्कार गर्ने केन्द्रीय सदस्य ज्ञवालीले बताएका छन् ।
माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशमा नेताहरूबीचको गुटगत लडाइँ तीव्र छ । गुटगत लडाइँकै कारण सुदूरपश्चिम प्रदेशसभा संसदीय दलको नेताबाट स्थायी समिति सदस्य खगराज भट्टलाई हटाइएको थियो । प्रदेशसभामा रहेका माओवादी केन्द्रका ११ सांसदमध्ये ६ सांसदले १२ माघमा छुट्टै भेला गरेर भट्टलाई संसदीय दलको नेताबाट हटाएर मानबहादुर धामीलाई संसदीय दलको नेता बनाएका थिए ।
भट्टलाई संसदीय दल नेतामा हटाउन संसदीय दलका उपनेता अक्कलबहादुर रावल, मानबहादुर धामी, शिवसिंह ओली, ओमविक्रम भाट, लक्ष्मी विक र गीतादेवी माल एकजुट भएका थिए ।













