चुरे । कैलालीको चुरे गाउँपालिकाले व्यावसायिक पशुपालनमा किसानलाई आकर्षित गर्न अनुदानमा उन्नत जातका भैँसी वितरण गरेको छ । गाउँपालिकाले वडा नं ३, ५ र ६ का १८ जना किसानलाई अनुदानमा १८ वटा उन्नत जातका दुधालु भैँसी वितरण गरेको हो ।
किसानलाई व्यावसायिक बनाउँदै दूध उत्पादन वृद्धि गर्ने उद्देश्यले गोठ सुधारका कार्यक्रमसँगै दुधालु भैँसी वितरण गरिएको गाउँपालिकाका पशु विकास अधिकृत धर्मराज भट्टले बताए ।
उनले निम्न आयस्रोत भएका अतिविपन्न, गरिब परिवारका किसानलाई भैँसीपालन व्यवसायतर्फ आकर्षित गर्न तीनवडाका १८ जना किसानलाई अनुदानमा उन्नत जातका भैँसी वितरण गरिएको बताए । ।
गाउँपालिकाको चालु आर्थिक वर्षको पशु विकास शाखालाई कुल विनियोजित बजेट रु। ३९ लाखमध्ये रु। १८ लाखको लागतमा दुधालु भैँसी किनेर अनुदानमा उन्नत जातका दुधालु भैँसीसँगै किसानलाई आवश्यक पर्ने सामग्री वितरण गरिएको उनले जानकारी दिए ।
पशु विकास अधिकृत भट्टले चुरे गाउँपालिका पशुपालनका लागि उपयुक्त ठाउँभएकोले किसानलाई त्यसतर्फ आकर्षित गर्ने खालका कार्यक्रम अघि बढाउदै लगिने गाउँपालिकाको नीति रहेको उनले बताए ।
जीविकोपार्जनका लागि विदेश जानुभन्दा गाउँमै पशुपालन र कृषि क्षेत्रमा लाग्न अभिप्रेरित गर्न किसान लक्षित अनुदानका कार्यक्रमलाई वर्षेनि बढाउँदै लगिने गाउँपालिकाका अध्यक्ष चक्रबहादुर बोगटीले बताए ।
किसानलाई दिने अनुदान र उनीहरूले गरेको उत्पादनको बजारीकरणका लागि पालिकाले निरन्तर समन्य गरेर अघि बढ्ने उनको भनाइ छ ।
व्यवसायिक पशुपालनमा किसानलाई आकर्षित गर्न र किसानको आयस्तर वृद्धि गर्न अनुदानका कार्यक्रम प्रभावकारी बन्ने विश्वास आफूले लिएको उनले बताए ।
पशु विकास शाखाले चालु आर्थिक वर्षभित्र रु। आठ लाखमा बोकालाई खशी बनाउने मेसिन, रु। पाँच लाखमा रागा बनाउने मेसिन र रु। छ लाखमा औषधी खरिद गरी पशुपालक किसानलाई वितरण गरिने समेत जनाएको छ ।
कैलालीको पहाडी भेगमा पर्ने चुरे गाउँपालिका पशुपालन र कृषिका लागि उपयुक्त क्षेत्रका रुपमा चिनिने गरिन्छ । सो गाउँपालिकामा पछिल्लो समय यता पशुपालन र कृषिकर्म गर्न सुदूरपश्चिमका बझांग, अछाम, बैतडीबाट बसाईसराई गरी आउनेको संख्या बढ्दै गएको गाउँपालिकाका सूचना अधिकारी कालिप्रसाद भट्टले बताए ।
अनुदानमा उन्नत जातका भैँसी वितरण
अनुदानमा उन्नत जातका भैँसी वितरण
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार













