धनगढी- सुदूरपश्चिम प्रदेश सरकारको चालु आर्थिक वर्षमा हालसम्मको बजेट खर्च न्युन देखिएको छ । प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८०÷८१ को साउनदेखि हालसम्म कुल विनियोजित बजेटको ३४ दशमलव ५ प्रतिशतमात्रै बजेट खर्च गर्न सकेको हो ।
प्रदेश सरकारले सो अवधिमा कूल विनियोजित बजेट मध्ये चालुतर्फ ५ अर्ब ३ करोड ४४ लाख र पुँजीगततर्फ ५ अर्ब ६१ करोड १८ लाख गरि १० अर्ब ६४ करोड ६३ लाख खर्च गरेको प्रदेश लेखा नियन्त्रक कार्यालय धनगढीका लेखा अधिकृत यज्ञराज पाण्डेयले जानकारी दिए । चालु आवका लागि प्रदेश सरकारले पूँजीगततर्फ १७ अर्ब २ करोड २३ लाख र चालुतर्फ ११ अर्ब ९६ करोड बजेट बिनियोजन गरेको उनले जानकारी दिए ।
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले १४ करोड ९ लाख,भौतिक पूर्वाधार विकास मन्त्रालयले ४ अर्ब ९२ करोड ३१ लाख, भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्रालयले ७१ करोड १८ लाख,सामाजिक विकास मन्त्रालयले २ अर्ब ४७ करोड ९ लाख,उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्रालयले ७८ करोड ७१ लाख, आर्थिक मामिला मन्त्रालयले ६ करोड ६६ लाख र आन्तरिक मामिला तथा कानून मन्त्रालयले १४ करोड ६२ लाख खर्च गरेको उनले बताए । प्रदेश सरकारले चालु आव २०८०÷८१ का लागि कुल २९ अर्ब २८ करोड ४० लाख बजेट विनियोजन गरेको थियो ।













