धनगढी- सुदूरपश्चिम प्रदेशको धनगढीमा आइतबारदेखि सुरु भएको श्रमाधान रोजगार मेला सम्पन्न भएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, सुदूरपश्चिम प्रदेश सरकार, धनगढी उपमहानगरपालिको आयोजनामा भएको मेला सोमबार सम्पन्न भएको हो ।
नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघ सुदूरपश्चिमको संयोजन,निजी क्षेत्रका सघंसस्था,विकास साँझेदारी र अन्य सरोकारवालाको सहकार्यमा मेला सञ्चालन भएको थियो । मेलाको आइतबार उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले उद्घाटन गरेका थिए । उद्घाटन समारोहमा प्रदेशको भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्री टीका थापाको विशेष उपस्थिति रहेको थियो ।
मेलाको समापन भने धनगढी उपमहानगरपालिकाकी उपप्रमुख कन्दकला कुमारी रानाले गरेकी थिइन् । काययक्रमको अध्यक्षता नेपाल तालिम तथा रोजगार व्यवसायी महासघ सुदूरपश्चिमका अध्यक्ष प्रमोद पाठकले गरेका थिए । मेलामा रोजगारदाताका २८ र सरकारी १० गरि ३८ वटा स्टल रहेका थिए भने रोजगारदाताबाट २ हजार ४ सय ६ पदका लागि माग गरिएकोमा अनलाइन र प्रत्यक्ष उपस्थित भएर २ हजार ६ सय ६९ जनाले रोजगारीका लागि आवेदन दिएका थिए । आवेदन दिएकामध्य ८५ जनाले रोजगारी पाएका छन् ।श्रमाधान रोजगार मेलामा करिब दश हजार एक सय पचास जनाले अवलोकन गरेका छन । मेलामा श्रमाधान सम्बाद,सांस्कृति कार्यक्रम समेत आयोजना गरिएको थियो ।














