धनगढी- खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीले कैलालीबाट तीन हजार पाँच सय क्विन्टल धान खरिद गरेको छ ।
जिल्लामा कात्तिक ११ गतेबाट धान खरिद सुरु गरेको खाद्य कम्पनीले हालसम्म उक्त परिमाणको धान खरिद गरेको हो ।
जिल्लाको मोहनपुर,टीकापुर,सत्ती र भजनी गरी चार स्थानबाट धान खरिद भइरहेको निमित्त कार्यालय प्रमुख इन्जिला बस्नेतले जानकारी दिइन् ।
उनका अनुसार यस वर्ष सरकारले मोटा धानको प्रति क्विन्टल तीन हजार चार सय १० रुपैयाँ ५१ पैंसा समर्थन मूल्य निर्धारण गरेको छ । उनले यस वर्ष खाद्य कम्पनीको जिल्लामा धान खरिद कोटा ५५ हजार क्विन्टल रहेको जानकारी दिइन् ।
उनले धान बिक्रीका लागि किसानले परिचय खुल्ने कागजात,वडाको सिफारिस र स्वघोषणा पत्र ल्याउनु पर्ने बताइन् । गत वर्ष कम्पनीले जिल्लाका पाँच स्थानमा खरिद केन्द्र स्थापना गरेर धान खरिद गरेको थियो । गत वर्ष धान खरिदको कोटा ३५ हजार क्विन्टल रहेकोमा २० हजार क्विन्टल मात्रै खरिद भएको निमित्त कार्यालय प्रमुख बस्नेतले जानकारी दिइन् ।
गत वर्ष सरकारले मोटा धानको समर्थन मूल्य प्रति क्विन्टल रु.तीन हजार एक सय ५५ निर्धारण गरेको थियो ।













