धनगढी- खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीले कैलालीबाट २२ हजार एक सय १६ क्विन्टल धान खरिद गरेको छ । जिल्लामा गत कात्तिक ११ गतेबाट धान खरिद सुरु गरेको खाद्य कम्पनीले शनिबारसम्म छ वटा खरिद केन्द्रबाट उक्त धान खरिद गरेको हो ।
जिल्लाको मोहनपुर खरिद केन्द्रबाट एक हजार तीन सय ४९ क्विन्टल, टीकापुर खरिद केन्द्रबाट सात हजार नौ सय ४२ क्विन्टल र सत्ती खरिद केन्द्रबाट आठ हजार चार सय तीन क्विन्टल धान खरिद भएको निमित्त कार्यालय प्रमुख इन्जिला बस्नेतले जानकारी दिइन् ।
उनका अनुसार भजनी खरिद केन्द्रबाट एक हजार नौ सय ६० क्विन्टल,जोशीपुर खरिद केन्द्रबाट दुई हजार चार सय सात क्विन्टल र गौरीगंगा खरिद केन्द्रबाट ५२ क्विन्टल धान खरिद भएको छ ।
कम्पनीले जिल्लाको कैलारीमा पनि खरिद केन्द्र राखेकामा त्यहाँबाट भने हालसम्म धान खरिद नभएको उनले जानकारी दिइन् ।
निमित्त कार्यालय प्रमुख बस्नेतका अनुसार यस वर्ष मोटा धान प्रति क्विन्टल तीन हजार चार सय १० रुपैयाँ ५१ पैंसामा खरिद भइरहेको छ । यस वर्ष खाद्य कम्पनीले जिल्लाबाट ५५ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य लिएको उनले बताइन् ।
गत वर्ष कम्पनीले जिल्लाबाट ३५ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य लिएकोमा २० हजार क्विन्टल मात्रै धान खरिद गरेको थियो । गत वर्ष सरकारले मोटा धानको समर्थन मूल्य प्रति क्विन्टल रु.तीन हजार एक सय ५५ निर्धारण गरेको थियो ।













