धनगढी । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव गिरिराजमणि पोखरेलले देशमा भएको युगान्तकारी परिवर्तनमा जनयुद्धको महत्वपूर्ण भूमिका रहेको बताएका छन् ।
आज ३० औं जनयुद्ध दिवसको अवसरमा माओवादी केन्द्र धनगढी उपमहानगर कमिटीले आयोजना गरेको रक्तदान तथा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले भने ‘महान जनयुद्धले नेपाली समाजको युगान्तकारी परिवर्तनको एउटा अध्याय पूरा गरेको छ । युगान्तकारी परिवर्तनको दस्तावेजको रुपमा हामीसँग संविधान छ । गणतन्त्र संघीयता,धर्मनिरपेक्षता,समानुपातिक समावेशीता,समाजवाद उन्मुखता,यी उपलब्धी सहित मूलक एउटा हिसाबले अगाडि बढिरहेको छ ।’
उनले जनयुद्ध दिवस एउटा उल्लास र उत्सव भएको बताए । उनले भने ‘हजारौं जनताको सामेलमा, जनमुक्ति सेना,पार्टीका नेतृत्व सबैको यसमा भूमिका रह्यो । जनयुद्ध विरता,सौर्य,पराक्रम र विचारको नाम हो । आजको दिन महान सहिदलाई सम्झना गर्ने दिन हो ।’
जनयुद्धले सगरमाथाको देशबाट नेपाललाई नयाँ ढंगले चिनाउने मात्र होइन् विश्व सर्वाहरा बर्गले नेपालप्रति ठूलो भरोशा र आशा गर्ने अवस्था भएको उनले बताए ।
कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य ओमप्रकाश पुनले जनयुद्धकै कारण आज देशमा परिवर्तन आएको बताए । उनले वैज्ञानिक समाजवादी क्रान्ति अझै बाँकी रहेको बताउँदै यो व्यवस्थालाई नयाँ बाटोमा लैजान जनयुद्ध दिवसलाई सम्झन जरुरी रहेको बताए ।
माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश संसदीय दलका उपनेता अक्कल रावलले देशमा लोकतान्त्रिक गणतन्त्र जनयुद्धको जगामा स्थापित भएको बताए । जनयुद्धले ल्याएको व्यवस्था भोगचलन गरिरहेकाले जनयुद्धको विरोध गरिरहेको बताउँदै उनले सगौरव जनयुद्ध दिवस मनाउन आवश्यक भएको बताए ।
माओवादी केन्द्रका केन्द्रीय सदस्य शान्ति नेपालीले जनयुद्ध दिवस ऐतिहासिक दिवस भएको बताउँदै जनयुद्धले एउटा इतिहास निर्माण गरेको बताइन् । उनले भनिन् गणतन्त्र संघीयता,धर्मनिरपेक्षता,समानुपातिक,समावेशीता जनयुद्धकै कारण स्थापित भएको बताइन् ।
कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्यहरू लोकेन्द्र लम्साल,लक्ष्मीदत्त जोशी,रमेशसिंह धामी,ललितसिंह ठगुन्ना,देवकी मल्ल,निर्मला जाेशी, माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश समिति उपाध्यक्ष अक्कल रावल,दीपेन्द्र कुँवर, प्रदेश सचिव जनक बुढालगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा ५५ जनाले रक्तदान गरेका थिए ।
माओवादी केन्द्र धनगढी उपमहानगर कमिटी अध्यक्ष बलबहादुर ऐरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव सुरेश सुनारले गरेका थिए ।













