धनगढी । नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य एवं पूर्वमन्त्री रमेशसिंह धामीले नेपाली कांग्रेस र नेकपा एमाले माओवादीका राजनीतिक भरिया भएको बताएका छन् ।
३० औं जनयुद्ध दिवसको अवसरमा बिहीबार साँझ अखिल(क्रान्तिकारी) धनगढीको गुरही चौकमा आयोजना गरेको दीप प्रज्वलन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले भने, ‘म कांग्रेस एमालेलाई भन्न चाहान्छु हिजो हाम्रा टाउकाको मूल्य तोकेर आज हाम्रा ऐजेन्डा बोकेर हिडिरहनु भएको छ । जनयुद्धको उपलब्धि नै संघीय लोकतान्त्रिक गणतन्त्र हो । संघीय लोकतान्त्रिक गणतन्त्र तपाइहरुले बोकिरहनु भएको छ । त्यसकारण कांग्रेस र एमाले माओवादीको राजनीतिक भरिया हो ।’
उनले भने ‘हामी यो भारी त्यसै बाटोमा फाल्न दिने छैनौँ । हामी खबरदारी गर्छौँ । सबैले खबदारी गरौँ । अहिलेको सरकारले जनयुद्धलाई मात्रै अपमान गरेको हैन् । संघीय लोकतान्त्रिक गणतन्त्रलाई उल्टा्याउन चाहान्छन् । सबै एकजुट भएर अहिलेको भ्रष्ट विचौलिया सरकारविरुद्ध लाग्ने समय आएको छ ।’
माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले सुशासनको पक्षमा,भ्रष्टाचारविरुद्ध काम गरेकाले अहिलेको सरकार बनेको उनको आरोप थियो । उनले भने ‘यो भ्रष्ट सरकारका विरुद्धमा सबै एकचोटी सडकमा आउन जरुरी छ । म सबैलाई आग्रह गर्न चाहान्छु ।’














