धनगढी । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री रमेशसिंह धामीले सरकारी विद्यालयको नतिजा सुधार गर्न सम्बन्धित सबै पक्षले ध्यान दिनुपर्ने बताएका छन् ।
शुक्रबार धनगढी उपमहानगरपालिका–१५ उर्मास्थित शिवगंगा आधारभूत विद्यालयको २९औं वार्षिकोत्सव तथा अभिभावक दिवस समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले भने ‘सरकारी विद्यालयमा सरकारको लगानी छ । तर नतिजा राम्रो आइरहेको छैन् । नतिजा सुधार गर्न आवश्यक छ ।’
‘नतिजाको समीक्षा शिक्षक,अभिभावक,जनप्रतिनिधिलाई दिएर हुँदैन् । यसका लागि सम्बन्धित सबै पक्ष एक ठाउँमा बसेर समीक्षा गर्न आवश्यक छ । त्यसपछि मात्रै नतिजा राम्रो आउँछ’, उनले भने ।
उनले एउटा अन्तरक्रिया कार्यक्रम गरेर स्थानीय,प्रदेश,संघ सरकारले गर्नुपर्ने जिम्मेवारीको बाँडफाँड गर्नुपर्ने बताउँदै त्यसपछि मात्रै नतिजामा सुधार ल्याउन सकिने बताए ।
बालबालिका भविष्यका कर्णधार भएकाले उनीहरुलाई सबै अभिभावकले समय दिनुपर्ने बताए । त्यस्तै उनले उर्मीदेखि उर्मा सम्मको सडक आफूले बहुवर्षिय योजनामा पर्ने गरि अगाडि बढाएको पनि उनले बताए ।













