कैलाली । कैलालीको लम्कीचुहा नगरपालिका- ३ र मोहन्याल गाउँपालिका-७ मा पर्ने चिसापानी–मंगलसेन सडकखण्डको १६ कि.मि.सडक स्तरोन्नतिको लागि प्रक्रिया अगाडी बढेको छ ।
सो सडकखण्डमा पर्ने राष्ट्रिय बनको जग्गा प्रयोग र जग्गामा रहेका रुख गोल हटाउन वन तथा वातावरण मन्त्रालय, वन तथा भू–संरक्षण विभाग र सडक विभाग (भू–वातावरण तथा सामाजिक शाखा) बीच सम्झौता भएसँगै प्रक्रिया अगाडी बढेको हो । राष्ट्रिय बनको ८.९२ हेक्टर जग्गा प्रयोग गर्न सो जग्गामा रहेका विभिन्न जातका ४ सय ७२ वटा रुख गोल हटाउन वन तथा वातावरण मन्त्रालय, वन तथा भू–संरक्षण विभाग र सडक विभाग (भू–वातावरण तथा सामाजिक शाखा) बीच सम्झौता भएको छ ।
विभागको मिति २०८२।०१।०२ निर्णयानुसार अनुसूचीमा संग्लन शर्तहरु पालना गर्ने गरी वन ऐन २०७६, वन नियमावली, २०७९ तथा अन्य प्रचलित कानूनहरुको समेत अधिनमा रहने गरी दुवै पक्षबीच भएको सम्झौता उल्लेख छ । सम्झौता अनुसार सो वन क्षेत्र प्रयोग गर्न गराउन तथा सो वन क्षेत्रमा रहेका रुख/पोलहरु हटाउन दुवै पक्ष सहमती भएका छ ।
वन ऐन, २०७६ दफा ४२ को उपदफा (१) बमोजिम राष्ट्रिय बनको ८.९२ हेक्टर जग्गा प्रयोग गर्न र सो जग्गामा रहेका विभिन्न जातका ४ सय ७२ वटा रुख गोल हटाउन स्वीकृति दिने भनी २०८०/०९/२४ मा निर्णय भएको थियो । मंगलबार वन तथा भू–संरक्षण विभाग, वन संरक्षण शाखाले डिभिजन वन कार्यालय, पहलमानपुर, कैलालीलाई सम्झौता पत्र पत्राचार गर्दै वन तथा वातावरण मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, सिंहदरबार र सडक विभाग विभाग (भू–वातावरण तथा समाजिक शाखा) बबरमहल लाई समेत वोधार्थ दिएको छ ।
मिति २०८१।१२।२९ गते सडक विभाग (भू–वातावरण तथा सामाजिक शाखा)ले वन तथा भू–संरक्षण विभाग, वन संरक्षण शाखा बबरमहलाई पत्र पठाउदै रुख कटानीको लागि आवश्यक सम्झौता प्रक्रिया अगाडी बढाउन अनुरोध गरेको थियो । सडक डिभिजन महेन्द्रनगर कञ्चनपुरको कार्यक्षेत्र पर्ने उक्त सडक स्तरोन्नतिका लागि वन विकास कोषमा रकम जम्मा गर्नुपर्ने अवस्थामा उक्त रकम व्यवस्थापन जाहेर गर्न विभागको प्रतिबद्धता रहेको पत्रमा उल्लेख छ ।
यसअघी संघीय सरकारले ७.२ किलोमिटर ठेक्का सदर गरेपनि रुख कटानीको आदेश नभएकाले सो कार्य अघी बढ्न नसको अवस्थामा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले सो सडकको स्तरोन्नतिका लागि रुख/पोलहरु हटाउने सम्बन्धमा वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही, वन तथा वातावरण मन्त्रालयका सचिव, भौतिक पुर्वाधार तथा यातायात बिकास मन्त्रालयका सचिव, वन तथा भु–संरक्षण बिभागका उप–महानिर्देशक, सडक बिभागका महानिर्देशक सहित भू–वातावरण तथा सामाजिक शाखाका प्रमुख र सडक डिभिजन कार्यालय महेन्द्रनगरका प्रमुख भेट गरेका थिए ।
विकास निर्माण कार्यलाई चुनावी ऐजेण्ड मात्र नभएर जनताले अनुभूती हुने गरी विकास निर्माणलाई अगाडी बढाउनु पर्ने मुख्यमन्त्री शाहको प्रतिक्रिया छ । प्रदेश गौरवको योजना भित्र रहेको यस सडकलाई उनले चालु आ.व. २०८१/०८२ मा प्रदेश सरकारले उक्त सडकखण्ड स्तरोन्नतिका लागि मोहन्याल गाउँपालिका- ७ मा पर्ने बादेखोलामा मोटरपुल निर्माणका लागि रु.२१ करोड ७३ लाख, साघुरे खोलामा मोटरपुल निर्माणका लागि रु. १९ करोड ४४ लाख र चिसापानी सोल्टा सडक स्तरोन्नतिका लागि रु. १० करोड बजेट विनियोजित गरिएको बताए ।













