धनगढी । लामो समयदेखि वर्षा नहुँदा धनगढी उपमहानगरपालिका–१४ स्थित स्याउले बजार क्षेत्रमा खानेपानीको अभाव भएको छ । नल तथा धारा सुकेपछि स्थानीय बासिन्दा समस्यामा परेका छन् ।
खानेपानीको अभावलाई तत्काल सम्बोधन गर्न धनगढी उपमहानगरपालिकाले सो क्षेत्रमा डिप बोरिङ जडानको काम सुरु गरेको जनाएको छ । वडा नम्बर १४ का वडा अध्यक्ष मानबहादुर बिष्टसँग छलफलपछि स्याउले बजार नजिक रहेको वन कार्यालय अगाडि डिप बोरिङ गाडेर स्थानीयलाई खानेपानी उपलब्ध गराउने कार्य अघि बढाइएको उपमहानगरपालिकाले जनाएको हो ।
यसैबीच, वर्षा नहुँदासम्मको वैकल्पिक व्यवस्थाका लागि उपमहानगरपालिकाले पुरानो दमकल र अर्को पानी ट्यांकरमार्फत स्याउले बजार क्षेत्रमा दैनिक उपयोगका लागि पानी उपलब्ध गराउने व्यवस्था मिलाएको जनाएको छ ।
उपमहानगरपालिकाले स्याउले बजारका सम्पूर्ण बासिन्दालाई बर्खा नहुँदासम्म पानीको मितव्ययी प्रयोग गर्न तथा तत्कालका लागि गरिएको व्यवस्थामा सहयोग गर्न आग्रह गरेको छ ।
धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै थप जानकारीका लागि वडा नम्बर १४ का वडा अध्यक्ष मानबहादुर बिष्टलाई सम्पर्क गर्न सकिने बताएका छन् ।













