धनगढी । कैलालीको गेटास्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय मातहत सञ्चालित गेटा अस्पतालमा रेडियोलोजिस्ट चिकित्सकको अभावका कारण भिडियो एक्सरे (अल्ट्रासाउन्ड) र म्यामोग्राफी सेवा बन्द भएको छ ।
अस्पतालका सूचना अधिकारी नैनसिंह कार्कीका अनुसार दुई महिनाअघि रेडियोलोजिस्ट डाक्टर होम पन्तको कोशी प्रदेशमा सरुवा फिर्ता भएपछि उनले राजीनामा दिएका थिए । त्यसयता नयाँ रेडियोलोजिस्ट नियुक्त हुन नसक्दा दुवै सेवा बन्द भएका हुन् ।
अस्पतालमा दैनिक करिब २० जनाले भिडियो एक्सरे सेवा लिने गरेका थिए। सेवा बन्द भएपछि बिरामीहरू निजी अस्पताल तथा अन्य स्वास्थ्य संस्थामा जान बाध्य भएका छन् ।
कार्कीका अनुसार गर्भवती महिलाको नियमित जाँचका लागि आवश्यक भिडियो एक्सरे सेवा भने स्त्री तथा प्रसूति रोग विशेषज्ञ (गाइनोकोलोजिस्ट) मार्फत सञ्चालन भइरहेको छ । तर अन्य सबै प्रकारका भिडियो एक्सरे सेवा प्रभावित भएका छन् ।
उनले म्यामोग्राफी (स्तन एक्सरे) को रिपोर्टिङ अनिवार्य रूपमा रेडियोलोजिस्टले गर्नुपर्ने भएकाले विशेषज्ञ चिकित्सकको अभावमा उक्त सेवा पनि पूर्ण रूपमा बन्द भएको बताए । सुदूरपश्चिम क्षेत्रमा पहिलोपटक सञ्चालनमा ल्याइएको यो सेवा बन्द हुँदा स्तन क्यान्सरको प्रारम्भिक परीक्षणमा समेत असर परेको छ ।
६ सय शय्याको भौतिक संरचना निर्माण भइसकेको गेटा अस्पतालमा हाल ५० शय्या मात्र सञ्चालनमा छन् । सेवा विस्तार र विशेषज्ञ चिकित्सक व्यवस्थापनको माग स्थानीयले पटकपटक उठाउँदै आए पनि उपलब्ध सेवासमेत प्रभावकारी रूपमा सञ्चालन हुन सकेका छैनन् ।
अस्पतालमा यसअघि आईसीयू र एनआईसीयू सेवा सञ्चालन गर्ने उद्देश्यले पूर्वाधार निर्माण गरिए पनि ती सेवा अझै सञ्चालनमा आउन सकेका छैनन् ।













