धनगढी । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले राजनीतिक अस्थिरताले देशको अर्थतन्त्र डामाडोल भएको बताएका छन् ।
सो पार्टीको सुदूरपश्चिम प्रदेश समितिले बुधबार धनगढीमा आयोजना गरेको समसामयिक बिषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् ।
उनले भने ‘देशमा अस्थिरता छ । समय समयमा सरकार परिवर्तन भइरहन्छ । अर्थतन्त्र डामाडोल छ । सामाजिक क्षेत्रको कुरा गर्ने हो भने चित्त बुझाउने ठाउँ छैन् ।’
उनले भने ‘एउटा सरकार बनाउन अर्बो रुपैयाँ खर्च हुन्छ । एक एक वर्षमा सरकार परिवर्तन हुँदा हजारौँ अधिकृत प्रभावित हुन्छन् । राजनीतिक नियुक्ती त यसै पनि प्रभावित हुन्छन् । यी बाहेक व्यवसायी,विज्ञलगायतको दिमाग गिजोलिन्छ ।’
उनले देशमा राजनीति परिवर्तन भएपनि स्थिरता कायम हुन नसकेको बताए । उनले नेपालमा पाँच वर्षसम्म ढुक्क भएर सरकार चल्ने खालको वातावरण आवश्यक भएको बताए ।
‘शासकीय स्वरुप,व्यवस्थापकीय प्रणाली परिवर्तन गरेर हुन्छ कि कानुन,संविधान संशोधन गरेर हुन्छ भन्ने कुरा छ’, उनले भने ‘“हाम्रो पार्टीले संविधान संशोधन,जनमत संग्रह,चुनाव होस् या संघर्ष भएपनि एउटा कोर्ष नेपालमा पूरा गर्नुपर्छ भनेका छौँ । देशमा स्थिरता आवश्यक छ ।’














