काठमाडौं । देशका विभिन्न ठाउँमा भएको आगलागीबाट ४४ लाख ९० हजारको धनमाल जलेर नष्ट भएको छ । काठमाडौं महानगरपालिका–२७ असनस्थित सुनिल तुलाधरको घरमा रहेको इलेक्ट्रिक सामान तथा भाँडा गोदाममा विद्युत सर्ट भई बिहीबार दिउँसो आगलागी हुँदा
करिब ३५ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
गोरखाको चुमनुव्री गाउँपालिका–६ ताजु बस्ने ताजु कुल जंगको ३ वटा घरमा बिहीबार दिउँसो आगलागी हुँदा ३ वटा घर पूर्णरूपमा जलेर नष्ट भएको छ । आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन ।
कास्कीको पोखरा महानगरपालिका–७ पार्दीस्थित जिल्ला कारागार कास्कीको ब्लक बी भित्र रहेको चमेना गृहमा विद्युत सर्ट भई शुक्रबार बिहान आगलागी हुँदा टिभी १ थान, डिफ्रिज २ थान लगायतका सामानहरू जलेर करिब २ लाख रूपैयाँ बराबरको धनमाल नष्ट
भएको प्रहरीले जनाएको छ ।
बाजुराको हिमाली गाउँपालिका–५ बच्छया बस्ने गौरी मलालको घरमा बिहीबार साँझ आगलागी हुँदा घर भित्र रहेका २ तोला सुन, नगद, लत्ताकपडा, भाँडावर्तन, खाद्यान्न लगायतका सामान जलेर करिब ७ लाख ९० हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ
।
प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगालागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।














