धनगढी । साहित्यकार कैलासकुमार पाण्डेयको कथा सङ्ग्रह ‘नयातल’ विमोचन गरिएको छ ।
सुदूरपश्चिमाञ्चल साहित्य समाजले शनिबार धनगढीमा आयोजना गरेको कार्यक्रममा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कथा सङ्ग्रह ‘नयातल’ विमोचन गरेका हुन् ।
कथा सङ्ग्रह ‘नयातल’ विमोचन कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहले साहित्यको क्षेत्र धेरै ठूलो भएको बताए । उनले साहित्य क्षेत्रको व्याख्या गर्न नसकिने बताए ।
उनले यस क्षेत्रलाई अझै प्रवाकारी ढंगले विकास गर्दै लैजानुपर्ने बताउँदै यसका लागि आफू निरन्तर लाग्ने बताए । उनले यस क्षेत्रमा रहेका व्यक्तित्वको सम्मान गर्न आवश्य रहेको बताए ।
मुख्यमन्त्री शाहले भर्खरै प्रदेश सभाबाट प्रज्ञा प्रतिष्ठान विधेयक पास भएको बताउँदै त्यसले स्रष्टा,सर्जकलाई सम्मानित गर्ने सन्दर्भमा सहयोग पुग्ने बताए । उनले विकास र समृद्धिका विभिन्न आयाम भएको बताउँदै साहित्य क्षेत्र पनि विकास र समृद्धिको आयाम भएको बताए ।
कार्यक्रममा कथा सङ्ग्रह ‘नयातल’ की समिक्षक साहित्यकार प्राध्यापक तुलसी शर्माले कथा सङ्ग्रह नयातलको समिक्षा र चर्चा गरेकी थिइन् ।
उनले ‘नयातल’ कथा सङ्ग्रहमा समाजको यथार्थता चित्रण गरिएको बताइन् । उनले भनिन् ‘यस कथा सङ्ग्रहमा समाजमा रहेका अन्धविश्वास,जातीय विभेद,लैङ्गिक विभेदलगायतका कुराको चित्रण गरिएको छ ।’
उनले हाम्रो धर्म संस्कृति र पछिल्लो समय विकसित हुँदै गएको धर्म संस्कृतिको बारेमा कथा संग्रहमा उल्लेख भएको बताइन् ।
‘नयातल’ कथा सङ्ग्रहका सर्जक साहित्यकार कैलासकुमार पाण्डेयले समाजको यथार्थतालाई आफ्ना कृतिमा चित्रण गर्न खोजिएको बताए । उनले कथा संग्रहमा सुदूरपश्चिम मात्रै नभएर देशका विभिन्न ठाउँका बारेमा उल्लेख गरिएको बताए ।
साहित्य समाजका अध्यक्ष एवं साहित्यकार तीर्थराज पाण्डेयको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन समाजका महासचिव एवं साहित्यकार गणेश नेपालीले गरेका थिए ।













