अछामको बान्निगढी जयगढ गाउँपालिकाले प्रकाशित गरेको भुकम्प पिडितको तथ्यांकमा हुनेखाने पहुचवालाको नाम रहेको भन्दै बान्निगढी जयगढ गाउँपालिका वडा नं.२ का स्थानिय मदन कुंवरले बिरोध सहितको बिचार आफनो फेसबुक वालमा लेखेका छन् । उनको जस्ताको त्यस्तै बिचार निशाना न्युजले प्रकाशित गरेको छ ।
मिति २०८१ साल माघ २७ गतेका दिन बान्निगढी जयगढ गाउँ पालिका २ नं वडा कार्यालयमा कार्यरत कर्मचारी भद्र बहादुर ठकुल्लाको फेस बुक वालमा हेर्दा भूकम्प पिडितहरूको अन्तिम नामावली सम्प्रेषण भएको देखियो ।
जसमा भूकम्प पिडितकोहरूले सरकारले दिने सहयोग बारे जानकारी पाइयो । बान्निगढी ज .गा .पा.वार्ड नं २ मा भूकम्प बाट क्षति भएका घरको मर्मत र पुननिर्माण गर्ने भन्ने सूचना सहित घर धनिहरूको नामवली पनि उल्लेख छ ।
यो सबै नामावलीमा नाम हेर्दा वास्तविक भूकम्प पिडित भन्दा नक्कली भूकम्प पिडितको खोल ओढेका मान्छेहरू बढी देखिए । यिनीहरूको एउटै मात्र उद्देश्य सरकारले दिने सहयोगमा ठगी गर्ने र रकम कुम्ल्याउने ।
यो तथ्यांक संकलन गर्ने कर्मचारी हुन् अथवा जन प्रतिनिधिहरू नै किन नहुन वास्तविक भूकम्प पिडितको पहिचान गर्न चुकेकै हुन भन्ने हामी जनतामा आभास भएको छ र वास्तविक भूकम्प पिडित वा अवास्तविक भूकम्प पिडित को को हुन् भनेर अलिकति हेक्का सम्म नराखेको देखियो ।
यसमा वास्तविक भूकम्प पिडितको भन्दा ठगी गर्ने, बनावटी ,अवास्तविक भूकम्प पिडितको खोल भिरेकाहरूको संख्या तथ्यांकमा दोब्बर देखिन्छ किन ? के स्थानीय सरकार पहुँचवाला र शक्तिको आँडमा यिनीहरूको चाहाना अनुसार चल्ने हो ? कि त जनप्रतिनिधि र कर्मचारीहरूमा नै खोट हो , बुझि नसक्नुको छ ।
हैन भने पूर्णरूपमा भत्केका घरको फोटो , प्रहरी प्रशासनको मुचुल्का , आंशिक रूपमा चिरा , दरा,दरा भइ फाटेको घरको फोटो र प्रहरी प्रशासनको मुचुल्का हुनुपर्ने हैन र ? कसैले भन्लान् कार्यालयमा पेश गरिसकेको छ , कसैको छैन हचुवाको भरमा फितलो अनुगमन गरेर अन्तिम नामावली सम्प्रेषण भएको छर्लङ्ग देखिन्छ ।
तथापि सत्य तथ्य भुकम्प पिडितको तथ्यांक फेरि छानबिन हुने हो भने म एकिनका साथ भन्छु वास्तविक भूकम्प पिडित निकै कम संख्यामा रहने छन् । तसर्थ यो तथ्यांक आफैमा त्रुटिपूर्ण र स्थानीय सरकारको अराजकताको पराकाष्ठा , भद्दा मजाक र लज्जास्पद छ ।
पहिला गरीब घर धुरी सर्वेक्षणमा तयार पारेको तथ्यांक भन्दा कमको छैन यो भूकम्प पिडित वा ज गा पा वार्ड नं २ को तथ्यांक संकलन ।
मैले कसैको विरोध गरेको होइन मात्र वास्तविक भूकम्प पिडितले सरकारले दिने सहयोग पाउनु पर्छ नकि नक्कली खोल भिरेका ठगी मनसायले नाम नामवलीमा नाम राख्न सफल भएका टाँठा बाँठा , पहुँचमावाला र शक्तिको आडमा रमाउनेहरूले ।






















