धनगढी । धनगढीस्थित चैतन्य पाठशालाको २४ औं वार्षिकोत्सवमा विभिन्न चार विधाका व्यक्तिहरुलाई पुरस्कृत तथा सम्मानित गरिएको छ ।
हालै मलेसियामा सम्पन्न १९ वर्षमुनिको विश्वकप महिला क्रिकेट प्रतियोगिता खेल्नु भएकी धनगढीकी स्नेहा महरा ५० हजार पुरस्कार
राशिको चैतन्य खेलकुद साधना सम्मानबाट सम्मानित गरेको छ ।
चैतन्य पाठशालाले क्रिकेट खेलमा पुर्याएको योगदानको कदर गर्दै उनलाई चैतन्य खेलकुद साधना सम्मान प्रदान गरेको हो । उनलाई सुदूरपश्चिम प्रदेशका पूर्वमन्त्री प्रकाशबहादुर देउवाले उनीलाई सम्मानपत्र हस्तान्तरण गरे ।
कार्यक्रममा ऐश्वर्य विद्या निकेतनका प्रिन्सिपल प्रेमनिधि ओझालाई २५ हजार पुरस्कारराशिको चैतन्य शिक्षा साधना सम्मान प्रदान गरिएको छ । यस्तै, साहित्यकार यज्ञराज उपाध्यायलाई २५ हजार पुरस्कारराशिको चैतन्य कला, संस्कृति तथा साहित्य साधना सम्मान प्रदान गरिएको छ ।
चैतन्यले आफ्नो २४ औं वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसर पारेर साधना सम्मानसहित विभिन्न सम्मान प्रदान गरेको हो ।
कार्यक्रममा बोल्दै पाठशालाका अध्यक्ष गणेश जोशीले विद्यार्थीहरुलाई परीक्षामा बढी अंक ल्याउने भन्दा पनि उनीहरुलाई संस्कार सहितको शिक्षा कसरी दिने भन्ने चैतन्य पाठशालाको चासो र चिन्ता भएको बताए ।
वार्षिकोत्सव समारोहमा स्वागत मन्तव्य तथा प्रतिवेदन प्रस्तुत गर्दै चैतन्य पाठशालाका प्रधानाध्यापक कटकबहादुर सिंहले विद्यालयको गतिविधि बारे जानकारी दिनुका साथै समयको माग र आवश्यकतालाई मध्यनजर गर्दै जीवनोपयोगी संस्कारसहितको शिक्षामा चैतन्य पाठशालाले जोड दिएको बताएका छन् । ६५ वटा बढी रचनात्मक कार्यक्रम तथा अतिरिक्त कृयाकलाप प्रस्तुत गरिएको समारोहमा विद्यार्थीहरुले नृत्य प्रस्तुत गरेका थिए । वार्षिकोत्सव समारोह अभिभावक संघका अध्यक्ष ईश्वर गिरीको सभापतित्वमा सम्पन्न भएको थियो ।














