धनगढी । यस वर्ष किसानलाई मल अभाव नहुने भएको छ । कृषि सामाग्री केन्द्र प्रादेशिक कार्यालय धनगढीका अनुसार हिउँदे बालीका लागि मल अभाव नहुने भएको हो ।
केन्द्रमा यूरिया ३५ हजार आठ सय र डिएपी ४९ हजार बोरा मौज्दात रहेको कृषि सामाग्री केन्द्र प्रादेशिक कार्यालय धनगढीका सूचना अधिकारी गणेशदत्त जोशी जानकारी दिए ।
उनले भने ‘थप मल आउने क्रममा रहेको छ । यस पटक मल अभाव हुँदैन् ।’ उनले अनुदानको मल कृषि विकास मन्त्रालयले जारी गरेको निर्देशिका अनुसार वितरण गर्ने गरेको बताए ।
उनले भने ‘विज्ञता कार्यविधि अनुसार नियुक्त भएका सहकारी फर्महरुले नेतृत्व लिन्छन् । प्रत्येक स्थानीय तहमा स्थानीय आपूर्ति व्यवस्थापन छ । उहाँहरुको सिफारिसका आधारमा मल दिने गरिएको छ ।’
काटाको आधारमा सम्बन्धित स्थानीय तहलाई मल दिने गरिएको उनको भनाइ छ । केन्द्रले बीउविजनको समेत कारोबार गरिरहेको उनले बताए ।














