कञ्चनपुर- कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ९ मटेना स्थित खेल मैदान क्षेत्रबाट दुई जना स्थानीय नेपाली नागरिकलाई भारतीय सुरक्षाकर्मीको टोलीले पक्राउ गरी लगेको छ ।
बुधबार बिहानैदेखि सादा पोसाकमा नेपाल तर्फको एक पसलमा बसिरहेका भारतीय सुरक्षाकर्मीहरूले नेपाली नागरिक दिनेश रावत र ईश्वर पन्तलाई सीमा पारी सँगै लगी त्यहाँबाट भारतीय प्रहरी भ्यानमा हालेर लगेको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै भीमदत्त नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष गगनसिंह कार्कीले बताएका छन् ।
के कति कारणले नेपाली नागरिकहरूलाई भारतीय सुरक्षाकर्मीले लगे भन्ने विषयमा खुल्न सकेको छैन । यस विषयमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश डाँगीसँग बुझ्दा अहिलेसम्म कुनै आधिकारिक जानकारी नआएको र स्थानीयले दिएको जानकारी अनुसार भारती सुरक्षा अधिकारीहरूसँग बुझ्ने प्रयास भइरहेको प्रतिक्रिया दिएका छन् ।













