धनगढी । नेकपा (एकीकृत समाजवादी) जिल्ला कमिटी कैलालीले १३ वटै स्थानीय पालिकामा भेला तथा अधिवेशन गर्ने भएको छ ।
मंगलबार धनगढीमा बसेको बैठकले स्थानीय पालिका कमिटीको वडा, पालिका अधिवेशनहरु फागुन मसान्त भित्र सम्पन्न गर्ने निर्णय गरेको हो ।
पार्टीका प्रदेश अध्यक्ष हर्कबहादुर सिंहको प्रमुख आतिथ्यतामा भएको बैठकले १० गते मोर्चा संगठनको बैठक बसाउने विभिन्न जनवर्गीय संगठनको अधिवेशन, भेला, बैठकहरु तत्काल बोलाउन निर्देशन समेत गरेको छ ।
पार्टीले माघ ११ गते गौरीगंगा नगर कमिटीको भेला, १२ गते चुरे गाउँपालिकाको भेला, १६ गते टीकापुर नगर कमिटी, जानकी र जोशीपुर गाउँ कमिटीको बैठक, १९ गते गोदावरी नगर कमिटीको भेला,२५ गते बर्दगोरिया गाउँ कमिटीको अधिवेशन,१८ गते धनगढी उपमहानगर कमिटीको भेला, २८ गते भजनी नगर कमिटीको अधिवेशन, माघ १७ गते घोडाघोडी नगर कमिटीको भेला गर्ने निर्णय गरेको छ ।
पार्टीका पोलिट व्युरो सदस्य तथा कैलाली इन्चार्ज दीर्घ सोडारीले सम्बोधन गरेको कार्याक्रमको अध्यक्षता जिल्ला अध्यक्ष विमल जोशीले गरेका थिए ।
बैठकमा पोलिट व्युरो सदस्य चुनकुमारी चौधरी, केन्द्रीय सदस्य लक्ष्मी चौधरी,प्रदेश सचिव दिनेशचन्द्र सुवेदीलगाएतका नेताहरुको उपस्थिति रहेको थियो । बैठकको सञ्चालन जिल्ला सचिव दीर्घ जोशीले गरेका थिए । बैठकमा सहभागीहरुले पालिकामा पार्टीको गतिविधिबारे रिपोर्टिङ गरेका थिए ।














