धनगढी । नेकपा (एकीकृत समाजवादी) कैलालीले नगर, गाउँ र वडा संगठन कमिटीका भेलाहरु तीब्र पारेको छ । जिल्लाको गौरीगंगा नगरपालिकाको नगर भेलाबाट सुरु भएको अभियानले पालिकाका विभिन्न वडाहरुमा संगठन विस्तार र भेलाहरु गरेको छ ।
बुधबार गौरीगंगा नगरपालिकाको वडा नं ५ अण्डैयामा अधिवेशन गरेर नयाँ कमिटी चयन गरेको छ । मनिराम विकको अध्यक्षतामा २५ सदस्यीय कमिटी चयन गरेको हो । सो पार्टीका कैलाली इन्चार्ज एवं सुदूरपश्चिम प्रदेशका निवर्तमान मुख्यमन्त्री दीर्घबहादुर सोडारीको विशेष उपस्थितिमा भेला भएको थियो । भेलामा पार्टीका प्रदेश कमिटी सदस्य हेमकर्ण विक, नगर अध्यक्ष ललित बोहरा, पूर्व वडाध्यक्ष जगत विक लगायत नेताहरुको उपस्थिति रहेको जनाइएको छ । पार्टीको माघ ८ गते धनगढीमा बसेको जिल्ला कमिटीको बैठकले भेला, अधिबेशन तीब्र पार्न मातहत कमिटीहरुलाई निर्देशन गरेको थियो ।
यस्तै जिल्ला कमिटीको निर्णय अनुसार माघ १२ गते चुरे गाउँपालिकाको भेला, माघ १६ गते टीकापुर नगरकमिटी, जानकी र जोशीपुर गाउँ कमिटीको बैठक, माघ १९ गते गोदावरी नगर कमिटीको भेला, माघ २५ गते बर्दगोयिा गाउँ कमिटीको अधिवेशन, माघ १८ गते धनगढी उपमहानगर कमिटीको भेला, माघ २८ गते भजनी नगर कमिटीको अधिवेशन, माघ १७ गते घोडाघोडी नगर कमिटीको भेला गर्ने निर्णय गरेको छ ।
यसैगरी अनेरास्ववियूको १९ गते र युवा संघको फागुन १० गते जिल्ला भेला गर्ने निर्देशन समेत दिएको एकीकृत समाजवादीले जनाएको छ । युवा संघको जिल्ला कमिटीको बैठक तथा जिल्ला भेला घोडाघोडीमा आयोजना गर्ने निर्णय गरेको युवा संघका जिल्ला संयोजक अमित बोगटीले जानकारी दिए ।













