धनगढी । कैलाली उद्योग वाणिज्य संघले धनगढीमा हुने मानव सेवा आश्रमको महायज्ञका लागि पूर्ण सहयोग रहने जनाएको छ । बुधबार संघको भवनमा व्यवसायीहरूलाई तनाव व्यवस्थापन प्रशिक्षणका क्रममा संघले आफ्नो प्रतिवद्धता व्यक्त गरेको हो ।
कार्यक्रममा संघ र वस्तुगत संघ लगायतमा आवद्ध व्यवसायीहरूलाई तनाव व्यवस्थापन प्रशिक्षण प्रदान गरिएको हो । मानवसेवा आश्रमका अध्यक्ष तथा जीवन र मन व्यवस्थापन तालिमका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रशिक्षक रामजी अधिकारीले प्रशिक्षण दिए । प्रशिक्षणका क्रममा उनले जीवन जसरी व्यवस्थापन गरिरहेका हुन्छौँ त्यो भन्दा बढी मन व्यवस्थापनमा ध्यान दिन सके तनाव व्यवस्थापन स्वतः निराकरण हुने बताए ।
सोही प्रकृतिको प्रशिक्षण सहित यही माघ २३ गते महोत्सव हुने स्थल धनगढीमा सुरू हुने महायज्ञमा बिहान ५ बजेदेखि ७ बजेसम्म योग शिविर हुने भएकाले त्यहाँ पनि तनाव व्यवस्थापन र निरोगी कसरी बन्ने भन्ने लाभ योग शिविरबाट लिन सकिने अध्यक्ष अधिकारीले बताए । कार्यक्रममा कैलाली उद्योग वाणिज्य संघका महासचिव ओमबहादुर विष्टले मानवता प्रवर्द्धनका र आश्रमको सत्कार्यका लागि संघको पूर्ण सहयोग रहने बताए । अध्यक्ष अधिकारीलाई संघका अध्यक्ष पुष्पराज कुँवरले स्वागत गरेका थिए भने अध्यक्ष अधिकारीले महायज्ञको कार्यक्रम योजना फाइल र निमन्त्रणा पत्र हस्तान्तरण गरेका थिए ।
मानवसेवा आश्रम खुला आकाशमुनि सडक पेटी एवं सार्वजनिक स्थलहरूमा कष्टपूर्ण जीवनयापन गर्न विवश सहयोगापेक्षी, बेसहारा, असहाय, अशक्त, अभिभावकविहीन, शारीरिक तथा मानसिकरुपमा कमजोर मानवहरूको उद्धार, उपचार, पालनपोषण, संरक्षण एवं पारिवारिक पुनर्मिलनको सेवामा समर्पित छ । आश्रम विसं २०६९ साल भाद्र १३ गते मुख्य कार्यालय मकवानपुर, हेटौँडाबाट औपचारिक रूपमा सेवा शुभारम्भ भएको हो ।
आश्रमले विसं २०८२ सालभित्र स्वयं आफ्नो लागि आफै केही गर्न नसक्ने अवस्थामा रहेका, हेरचाह र पालनपोषण गरिदिने समेत कोही नभएका सहयोगापेक्षी (बेसहारा, असहाय, अशक्त, अभिभावकविहीन, मानसिक तथा शारीरिकरुपमा अति कमजोर) सडकआश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माण गर्ने, घोषणा गरेको छ । घोषणा पश्चातको कार्यान्वयनलाई प्रभावकारी बनाउने संकल्प सहित हाल सात प्रदेशको २० जिल्लामा २६ ओटा सेवा केन्द्रहरूमार्फत ७७ ओटै जिल्ला र विदेशमा बेलायत, कतार, अष्ट्रेलियामा सहयोगापेक्षी सडक आश्रित मानवहरूको उद्धार र तिनीहरूको मानवोचित व्यवस्थापन गर्दै आइरहेको छ ।














