धनगढी । परराष्ट्रमन्त्री एवं नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवाले हमास समूहको नियन्त्रमा रहेका नेपाली विद्यार्थी विपीन जोशीको रिहाइका लागि सक्दो प्रयास गरिरहेको बताएकी छन् ।शुक्रबार नेपाली कांग्रेस कैलालीको दोस्रो जिल्ला सम्मेलनमा बोल्दै उनले यस्तो बताएकी हुन् ।
उनले भनिन् ‘हमासको नियन्त्रणमा रहेका विपीन जोशीको रिहाइका लागि सकेसम्मको मेहनत गरेरहेकी छु । सबै क्षेत्रमा पहल गरिरहेकी छु । भाग्यमा पनि भर पर्छ । हाम्रो चाहाना विपीन सकुशल फर्केर आउन् भन्ने हो ।’
त्यस्तै,कार्यक्रममा बोल्दै उनले सामाजिक सञ्जालमा देशको नकरात्मक चित्रण गर्ने कुरा चुनौतिको रुपमा रहेको बताइन् ।
‘पछिल्लो समय सामाजिक सञ्जालमा देशमा केही भएको छैन् भनेर नकरात्मक प्रचार मात्रै भइरहेको छ’, उनले भनिन् ‘देशमा केही नभएको होइन् धेरै काम भएको छ । बाहिरी देशले हेर्ने दृष्टिकोण पनि राम्रो छ । सुदूरपश्चिमै धेरै विकास निर्माणका काम भएका छन् ।’
उनले नेपाली कांग्रेसको नीति मार्गदर्शन देश बनाउने भएको बताउँदै सबै नेता कार्यकर्तालाई सकरात्मक सोचका साथ अगाडि बढ्न आग्रह गरिन् । उनले राजनीतिबाट मात्रै परिवर्तन ल्याउन सकिने बताउँदै आ–आफ्नो क्षेत्रबाट कर्तव्य पूरा गर्नुपर्ने बताइन् ।













