धनगढी । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज गिरिराजमणि पोखरेलले जागरण अभियान राष्ट्रिय राजनीतिका बारेमा र पार्टीका पछिल्ला कार्ययोजना जनस्तरसम्म पु¥याउने अभियान भएको बताएका छन् ।
बिहीबार धनगढीमा प्रेस सेन्टर निकट पत्रकारसँगको भेटघाटमा उनले पार्टीले सञ्चालन गर्न लागेको जागरण अभियान जनस्तरसम्म जाने बताए ।
उनले भने ‘यो अभियान जनस्तरसम्म लैजाने क्रममा हाम्रो पार्टी पनि आन्तरिक सुदृढ हुने भो र सही दिशामा पनि जाने हुन्छ । आन्तरिक संगठन सुदृढ गर्न यसले भूमिका खेल्छ । यो अभियान मार्फत हाम्रो जहाँ कमजोरी छ । त्यसलाई सच्याउन मिल्छ ।’ उनले भने ‘हामीले वर्ग र उत्पीडित समुदायलाई छोडेका छौँ । यस अभियानले वर्ग र उत्पीडित समुदायतिर फर्कने भयौँ ।’
उपनिर्वाचनले माओवादी पार्टीलाई माथि उठाएको उनले बताए । उनले भने ‘अहिले कांग्रेस,एमाले ओरालो लागेको,रास्वपा विचलित भएको र माओवादी माथि उठेको बेला हो । राष्ट्रिय परिस्थितिको कोणबाट यो बेला आन्तरिक एकतालाई सुदृढ गर्दै जनमुखि योजना बनाएर जाने हो पार्टीको राम्रो सम्भावना छ ।’
उनले अभियान यही फागुन १२ गते झापाको कचनकवलबाट सुरु भएर आगामी चैत ८ गते कञ्चनपुर पुगेर समापन हुने बताए । जागरण अभियानको तयारी सुदूरपश्चिममा पनि तीब्र रुपमा भइरहेको उनले बताए ।
अभियान हुलाकी राजमार्ग केन्द्रीत हुने,एक जिल्लामा एक दिनको कार्यक्रम हुने र अभियानमा जनसभा, कोणसभा, अन्तरक्रिया, जनभेटघाटलगायत हुने उनले बताए । अभियान टोलीमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वमा वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरू, महासचिव र उपमहासचिवहरूका साथै सांस्कृतिक टोलीसमेत रहने उनले बताए ।













