बझाङ । बझाङको मष्टा गाउँपालिका-७ का २७ वर्षीय सन्तोष जेठाराको यात्रा केवल एक प्रतियोगीको यात्रा होइन, गाउँका मेला-महोत्सवबाट सुरु भएर देशकै चर्चित हास्य मञ्च ‘कमेडी च्याम्पियन सिजन–४’ को टप ९ सम्म पुगेको संघर्षपूर्ण र प्रेरणादायी कथा हो ।
सन्तोषको बाल्यकाल गाउँघर, मेलापात, उकाली-ओराली, वनजङ्गल र हरियालीसँगै साथीभाइसँग रमाइलो गर्दै बित्यो। सानै उमेरदेखि मानिसहरूलाई हँसाउन पाउँदा उनीभित्र बेग्लै ऊर्जा, खुसी र उत्साह पैदा हुन्थ्यो । गाउँघरमा हुने स-साना मेला, पर्व तथा महोत्सवमा उनी आफ्नो कला प्रस्तुत गरिरहन्थे।
उनको कमेडी केवल हँसाउने माध्यम मात्र थिएन। त्यसमा सामाजिक सन्देश, परम्परागत मान्यता तथा हानिकारक प्रथाप्रति व्यङ्ग्यात्मक चेतना र परिवर्तनको सन्देशसमेत जोडिएको हुन्थ्यो । गाउँका मानिसहरूलाई आफ्ना ठट्टा र अभिनयमार्फत पेट मिची-मिची हँसाउँदै गर्दा नै उनको मनमा कला क्षेत्रमा केही गर्ने सपनाको बीजारोपण भइसकेको थियो ।
उच्च शिक्षाका लागि बझाङबाट काठमाडौं प्रवेश गरेका सन्तोषका लागि नयाँ ठाउँमा घुलमिल हुन र जीवन सहज बनाउन सजिलो थिएन । पढाइसँगै उनले सञ्चार क्षेत्रमा समेत जोडिएर केही समय काम गरे । टेलिभिजनका पर्दामा ‘कमेडी च्याम्पियन’ जस्ता कार्यक्रम हेर्दा उनलाई आफू पनि यही मञ्चमा उभिएर उत्कृष्ट प्रस्तुति दिन सक्छु भन्ने आत्मविश्वास जाग्थ्यो ।
सञ्चार क्षेत्रको अनुभव र काठमाडौंमा गरेको संघर्षले उनको आत्मबललाई थप मजबुत बनायो। आफ्नो क्षमतामाथि विश्वास गर्दै उनी ‘कमेडी च्याम्पियन’को अडिसनमा सहभागी भए । मौलिक शैली, बझाङी भाषा र चोटिला व्यङ्ग्य प्रस्तुतिमार्फत निर्णायक तथा दर्शकको मन जित्न उनी सफल भए ।
यो यात्रा उनका लागि सहज भने थिएन । हरेक चरणमा आफूलाई थप तिखार्दै उनी अहिले ‘कमेडी च्याम्पियन सिजन–४’ को उत्कृष्ट ९ मा स्थान बनाउन प्रतिस्पर्धा गरिरहेका छन् । विकट गाउँबाट आएर देशभरका प्रतिभासँग प्रतिस्पर्धा गर्दै यो उचाइ हासिल गर्नु आफैँमा महत्वपूर्ण उपलब्धि हो । हास्यकलाको माध्यमबाट राष्ट्रिय मञ्चमा प्रवेश गर्ने सन्तोषको यो यात्रा उनका लागि नयाँ सम्भावनाको ढोका पनि बनेको छ ।
अहिले सन्तोष टप ९ को यात्रा तय गर्न दर्शकको भोटमा निर्भर छन् । टप ९ का लागि भोटिङ खुला भएको दुई दिन भइसकेको छ । आफ्नो सपनालाई अझ अगाडि बढाउन र बझाङको नाम राष्ट्रियस्तरमा चिनाउन सन्तोषले देश-विदेशमा रहेका सम्पूर्ण दर्शक, शुभचिन्तक तथा साथीभाइलाई आफूलाई भोट गरेर साथ दिन अपिल गरेका छन् ।
उनले दर्शक तथा शुभचिन्तकबाट प्राप्त भइरहेको माया, साथ र सहयोगप्रति आभार व्यक्त गर्दै आगामी यात्रामा पनि निरन्तर साथ र समर्थनको अपेक्षा गरेका छन् ।














